युनिक्स जोगी

एक युनिक्स जोगीले शिष्य अध्ययन गरिरहेको कोठाबाट रुवाबासी सुन्छन् र के भयो भनेर बुझ्न जान्छन्।

उनले शिष्यलाई रुन लागेको अवस्थामा भेट्टाउँछन्। "के भयो फेरि?" जोगीले सोध्छन्। "किन चिच्याएको?"

"यो प्रणाली कति गार्हो हो!", शिष्यले भन्छ, "मैले पढाई गर्न दिनहुँ चारवटा एडिटर चलाउनु गर्नुपर्छ, कुनै एउटाले सबै काम गरे हुन्थ्यो नी!"

"ए…", जोगीले गहिरो अनुहार बनाएर टाउको हल्लाउँदै सोध्छन्, "यो स्पष्ट समस्यालाई समाधान गर्न तिमी के प्रस्ताव गर्छौ?"

शिष्यले केही मिनेट ध्यानपूर्वक सोच्छ, र त्यसपछि उसको अनुहार खुशीले चम्कन्छ। उत्साहित हुँदै, ऊ भन्छ, "ल, यो त स्पष्ट छ। म अहिलेसम्मकै सबैभन्दा राम्रो एडिटर लेख्नेछु। यसले अहिले भएका चारवटै एडिटरले गर्ने सबै काम गर्नेछ, तर तिनीहरूको काम अझ राम्रो र छिटो गर्नेछ। र मेरो नयाँ एडिटरको कारणले, संसार अझ राम्रो ठाउँ हुनेछ।"

जोगीले तुरुन्तै हात उठाएर शिष्यको टाउकोको छेउमा बिस्तारै थप्पड मार्छन्। जोगी वृद्ध र कमजोर छन्, त्यसैले शिष्यलाई शारीरिक रूपमा चोट लाग्दैन, तर ऊ भएको घटनाले चकित हुन्छ। उसले जोगीतिर फर्केर सोध्छ, "मैले के गल्ती गरें?"

"मूर्ख!" जोगी भन्छन्। "के तिमीलाई लाग्छ कि म अर्को एउटा एडिटर सिक्न चाहन्छु र?"

तत्कालै, शिष्य ज्ञानले भरिन्छ (वा उसले कुरा बुझ्छ)।

आयुष झा · 2025-11-26 Wed 19:33